RABINDRA RIJAL: पानी (कविता)

पानी (कविता)

Tuesday, March 15, 2011 under by RRijal 2 Comments

पानीको भित्तो,
पानीकै छानो,
पानीकै जमिन,
म शित देखेर झस्किन्छु अचेल,
मेरा बिहान त्रास बाट सुरु हुन्छन,
जड पहाड हुनुको गर्व छैन,
दुई तिहाई झोल बोकेर बाँचेको रहेछु,
परेलिका डिल भत्काएर,
काप काप बाट रसाउन डर लाग्छ,
पसिनाको कदर रहेनछ,
आँशु मात्रै नुनिला रहेनछन्,
सुनामीले समुन्द्र खल्लो बनाएको छ ।

अन्न देखेर झस्किन्छु अचेल,
सिता सितामा अणुबम देख्छु,
असार लाग्दा यसै गरी भिजेथे,
कैयौँ कमिलाहरूका साम्राज्य,
उफ्! तिनका श्रमको गुँड,
म भोक सम्झेर झस्किन्छु अचेल।

प्रकृतिको शैतानी भोक,
उ डकार्दैछ,
कमिलाकै दशा भएको छ हाम्रो,
'पागल प्रकृती' ले टोकेको छ मानौँ,
पानी देखेर झस्किन्छु अचेल,
मेरो भोक प्यासमा खडेरी लागेको छ,
हाम्रो बस्तिमा,
शैतान प्रकृतिको
निर्भिक उद्दण्डता देख्दा,
देवको आश मरेको छ,
चट्टान हुने अठोट बढेको छ,
पानी को मनोमानी रत्ती मञ्जुर छैन।

2 Responses to "पानी (कविता)"

  1. Chaitanya said, on March 15, 2011 1:56 PM

    Heartbreaking tale!

  2. Bed Nath Pulami said, on March 17, 2011 9:20 PM

    रविन्द्र जी -हाम्रो बेमन्जुरी मै पनि ....अहिले जापानमा त्यो पानिले आफ्नो शैतानी स्वरुप प्रतुत गरेरै छाड्यो !

Leave a Reply

Your feedback ?