RABINDRA RIJAL

गजल (धन्दा गजब हजुरको)

Saturday, February 25, 2012 under by RRijal 1 Comments

महल रुवाएर गल्लि हसाँउने, फन्दा गजब हजुरको,
आफ्नैले घेरेर फसाउने, धन्दा गजब हजुरको ।

जो जो थिए मतियार तपाईँका हतियार तपाईँका,
पर पर सर्छन आज नाम, भन्दा गजब हजुरको ।

फसल के जात रोप्नु भा'थ्यो, ती समथल फाँटमा,
जरै देखि नाङ्गिनु भो थोरै, खन्दा गजब हजुरको ।

अझै सल्बलाउँछन् परजिवि ढलेको वृक्षमा,
होला आँपझैँ अमिष्ट स्वादको, चन्दा गजब हजुरको ।

क्रान्तिको हिसाब माग्दै मधेश एक साथ गर्जियो,
झुपडिको खरै कम भो दौलत, गन्दा गजब हजुरको।



(तस्विर साभार : भोजराज दाहाल - नेपाल डायरी ब्लग)


मुटुले यस्तरी हान्छ !

Tuesday, July 26, 2011 under by RRijal 6 Comments

मुटुले यस्तरी हान्छ छातीको पहरो,
मानौँ,
कालिगण्डकीको तिरमा,
शालिग्राम खोज्नेले,
ढुङ्गा फोर्दा,
बनौँ का लालिगुराँस हल्लिन थाल्छन्,
र,
फुट्छ यौटा अर्को चेतनाको सहस्रधारा,
म त्यस्तै अनुभवले हुर्केको छु।
तिमी पनि,
नदिको सुस्केरा झैँ
केहि भन्नु सुशेलिमा,
र,
मुटुले त्यस्तरी हानोस् छातीको पहरो !
soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato

गजल (कहाली लागेको छ)

Tuesday, July 12, 2011 under by RRijal 3 Comments

एउटा फूलको देशमा, पाली लागेको छ,
शीत नछोई झर्ला भन्ने, कहाली लागेको छ।

डील डील छ अमृत टप्प, खस्दैन एक थोपा,
पहरामा फुलेको छ माथी, आली लागेको छ।

गर्जिन्छ मात्र आकाश, छेड्दैन कालो बादल,
सबै कर्णहरूको अञ्जुली, खाली लागेको छ।

अब छैन आशको त्यान्द्रो, सुकाइदे, फुकाइदे,
भन्दा नटेर्ने जरा जरा नै, जाली लागेको छ।

गजल (आँसिको छाप छ)

Thursday, June 30, 2011 under by RRijal 4 Comments

image: nagariknews.com
हातमा बिउ छातीमा आँसीको छाप छ,
मनमा लालच मुखमा सेवाकै आलाप छ।

झ्याल खोलेर भन्छ गुण्डागर्दि मुर्दावाद,
अचानो सुम्सुम्याउनेको कम्मरमा दाप छ।

"हो संविधान जनताकै हो, तर छोड् न ए!,
मेरै पालोमा लेख्छु", क्या हान्थाप छ।

हलिलाई मंसिरे धानको के ताकेता,
हिलो जति भो त्यति नै फलिफाप छ।

एकै हलका तिन गोरू, तिन तिर तान्छन्,
सबै भन्छन् बाँकि दुईको पो मनमा पाप छ।


कविता (नेपाली ब्लग वरिपरी)

Wednesday, June 29, 2011 under by RRijal 20 Comments

त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ
मन पोखिएको कुनो निर
आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
एउटा वृत्त - सम्वृद्द
 आकार दिन खोज्दै थिएँ ।
कलियुगका कुरालाई,
कनिकुथीको साहित्यले झड्कार्दै,
शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ,
मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
एक चोटी पढ्नै पर्ने, लेख्नै पर्ने
कुनै कथालु खसखसले उक्साईरहेको थियो, फेरी सोचेँ
साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
तै पनि छैमलेको बबुरो
पाँचथरे साईँलो का अभिव्यक्ति सँग बहकिँदा,
जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
कुनै घायलका तरही मुसायरा जस्तै,
मेरा यात्राका सुस्केराहरू,
डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
प्रतिबिम्बित हुँदै,
पानीफोटोमा टिल्पिलाउँदै थिए, मानौँ -
कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
यस्तो समय र परिवेशमा,
म जस्तो भाते चोरलाई
साईबर चौतरीका गफगाफ,
प्रदिप, अर्चना, सुशिल, अञ्जली,
प्रवेस वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
नेपाली ब्लगर र xnepali का गन्थन पढ्दैमा,
दुर्जेय चेतना प्राप्त भो भनेर,
भो न-कुरा गरम्,
किनकी म बुझ्छु,
घर आँगन छोडेर,
बाईरोडको बाटोमा निस्केपछि
आँफु सडकका अभिलेखको पात्र भईन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
र यो?
यो त फगत् युटोपिया को खोजिमा हिँडेको यात्राको,
एउटा अन्त्यहिन सुरुवात हो।


soch, tsunami, pahiro, kuhiro, suiro, gazal, ghazal, rang, baato